Sunday, September 27, 2020

धमनिहवाको नामले प्रसिद्ध ,प्राचीन ईट्टाद्धारा निर्माण भएको जोडि स्तुपा (Twin Stupa),कपिलबस्तु

 

जोडि स्तुपा (Twin Stupa),कपिलबस्तु
           धमनिहवाको नामले प्रसिद्ध ,प्राचीन ईट्टाद्धारा निर्माण भएको यो स्तुप कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ३ किलोमिटर उत्तर पश्चिममा अवस्थित शाक्य राजधानी तिलौराकोट परिसरबाट करिब ४०० मिटर उत्तर दिशामा अवस्थित रहेको छ । यो जोडि स्तुपा सिद्धार्थ गौतम बुद्धका पिता राजा शुद्धोधन र माता महारानी मायादेवीको स्मृतिमा निर्माण गरिएको विश्वास गरिन्छ । ईसा पूर्व चौँथो शताब्दीमा निर्मित ठुलो स्तुपको व्यास ५२ फिट र उचाइ ७.५ फिट रहको छ, भने सानो स्तुपको व्यास २६ फिट रहेको छ । यो सानो स्तुप ईसा पूर्व दोस्रो /पहिलो शताब्दी अगाबै निर्माण भएको थियो । पुरातत्व विभागले सन् १९६८ र सन् १९६९ मा उत्खनन गरेको हो । नेपाली पुरातत्वविद वि.के.रिजालले स्तुपहरुको उत्खनन गरी बुद्धका माता पिताको स्मृतिमा निर्माण गरिएको कुरा आफ्नो उत्खनन विवरणमा दर्शाएका हुन् । त्यस्तै भारतीय पुरातत्वविद टि.एन मिश्रले ठुलो स्तुप सँभवत चौथो शताब्दीमा निर्माण भएको कुरा आफ्नो विवरणमा दर्शाएका हुन । यी स्तुपहरु मध्ये ठुलो स्तुप चार चरणमा निर्माण गरिएको भए पनि सानो स्तुप पहिलो चरणमा नै निर्माण गरिएको विश्वास गरिएको छ ।

प्राचीन कालमा निर्माण भएका यी स्तुपहरुको सँरक्षण हुन आवश्यक देखिन्छ । यी स्तुपहरु खुला आकाशमुनी रहिरहँदा घाम,पानीको असरले यी सँरचना नस्ट भई माटोमा विलीन हुन सक्ने र भावि पुस्ताले देख्न नपाउने खतरा रहेकोले यी स्तुपालाई घाम,पानी तथा छाडा चौपाया गाईबस्तुबाट जोगाउनु आवश्यक रहेको छ । यी ऐतिहासिक,धार्मिक ,पुरातात्विक तथा पर्यटकीय सम्पदाको स्तरोन्नति हुन नसक्दा कपिलबस्तुबासी बर्सौदेखी चिन्तित हुनु परेको जनगुनासो बढिरहेको छ । यी सम्पदाहरुको चौतफि विकास भएमा यस क्षेत्रका नागरिकको आयस्तरमा बृद्धि भइ यस क्षेत्रको अर्थतन्त्रमा कायापलट आउनेमा दुई मत छैन । यी सम्पदाको आवश्यक राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुुन नसक्दा यी सम्पदा ओझेलमा परेका छन् । यी सम्पदाहरुको प्रचार प्रसार र आवश्यक सँरक्षण तथा प्रर्बद्धन एवम साैन्दर्यकरण गर्नु हामी सबैको साझा दायित्व एवम जिम्मेबारी हो ।

No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...